पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनीति गतिविधि अगाडि बढाउनका लागि खोलेको सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै छिन् । नेकपा एमालेको केन्द्रीय कमिटि बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपनि आफू पछाडि नहट्ने अडान राखेकी एमाले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गरेकी हुन् ।
तर, बानेश्वरस्थित थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ । सो कार्यालयको दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ । एमालेका अन्य नेताहरूलाई पनि निमन्त्रणा पत्र दिइएको छ ।
विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको यो घरलाई २०४८ सालको चुनाव मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए। भण्डारीले यही घरबाट २०४८ मा काठमाडौं १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए । मदनले मात्रै होइन, विद्याले पनि २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर प्रयोग गरेकी थिइन् । भण्डारी दैनिक कार्यालयमा उपस्थित भएर नेता-कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग भेटघाटसँगै आफ्नो राजनीतिक गतिविधि अघि बढाउने उनी निकटका नेताले बताएका छन् ।






