नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आज लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाज आमनेसामने हुँदैछन् । दोस्रो जितको लक्ष्यका साथ दुवै आज अपरान्ह ४ बजे त्रिवी मैदानमा उत्रने भएका हुन् ।
अंक तालिकाको पाँचौ र छैटौ स्थानमा रहेका यी दुवै टोलीको समान दुई अंक रहेको छ । प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल हो भने काठमाण्डूको चौथो खेल हो ।
लुम्बिनीले यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकाल्दा दोस्रो खेलमा कर्णाली याक्सलाई नौ विकेटको हार सुम्पिएको थियो ।
काठमाण्डूले भने आफ्नो पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । दोस्रो र तेस्रो खेलमा भने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सविरुद्ध क्रमशः २९ र पाँच विकेटले पराजित भएको थियो ।
मंसिर १ गतेदेखि सुरु प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । प्रतियोगितामा हालसम्म सम्पन्न १० खेलको नतिजा आइसकेको छ ।






