काठमाडौँ – नेपाली काँग्रेसले लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम दाङमा सुरु गरेको छ। कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी भई हालैको निर्वाचन परिणाम र संगठनात्मक अवस्थाबारे समीक्षा गरिरहेका छन्।
कार्यक्रममा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल तथा सहमहामन्त्री योगेन्द्र चौधरी र डिला संग्रौलालगायत नेताहरू उपस्थित छन्। लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, १२ जिल्लाका सभापति, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहेको छ।
दाङको भालुवाङस्थित होटेल पौवामा आयोजित कार्यक्रममा निर्वाचन समीक्षासँगै ‘अबको काँग्रेस’ विषयमा अन्तरसंवादसमेत सञ्चालन भइरहेको प्रदेश सभापति अमरसिंह पुनले बताएका छन्। कार्यक्रममा संगठन सुदृढीकरण, चुनावी रणनीति र कार्यशैलीबारे छलफल केन्द्रित गरिएको जनाइएको छ।
पार्टीले फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा आन्तरिक असहयोगका कारण परिणाम प्रभावित भएको विषय उठान गरेको छ। यसअघि कपिलवस्तु, पाल्पा र नवलपरासीलगायत जिल्लामा पार्टीभित्रका उम्मेदवारविरुद्ध काम गरेको आरोपमा केही नेताहरूलाई कारबाही गरिएको थियो।
समीक्षा कार्यक्रममा सहभागी नेताहरूले निर्वाचन परिणाममा आन्तरिक तथा बाह्य दुवै कारणले प्रभाव पारेको उल्लेख गरेका छन्। साथै, पार्टीभित्र अनुशासन कायम गर्न र भविष्यका निर्वाचनलाई लक्षित गरी स्पष्ट रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।






