काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहलाई सामाजिक सञ्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेको युवालाई परिवारको जिम्मा लगाइएको छ ।
साइबर अपराधमा जिल्ला अदालत पाँचथरबाट अनुमति लिई कानुनबमोजिमको प्रक्रिया अवलम्बन गरी अनुसन्धान अगाडि बढाइएको र सोही क्रममा हाल निजलाई परिवारको जिम्मा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।
“सरकारले संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्छ”, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफ्ना विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहन्छ ।”
मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्नेजस्ता क्रियाकलाप प्रचलित कानुनविपरीतका कार्य भएको जनाएको छ ।






