काठमाडौँ- संघीय संसद् सचिवालयले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत संसदीय समितिहरूमा सदस्यहरूको जिम्मेवारी पुन:वितरण गरिएको जनाएको छ।
प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सभामुखको अधिकार प्रयोग गर्दै समितिगत संरचनामा आवश्यक हेरफेर गरिएको सचिवालयले स्पष्ट पारेको छ। सो परिवर्तनअन्तर्गत केही सांसदहरूको समिति सदस्यता अदलबदल गरिएको छ भने केही स्थानमा नयाँ सदस्य थप गरिएको छ।
संसदीय सुनुवाइ समितिमा रञ्जु न्यौपानेको स्थानमा पुनम कुमारी अग्रवाल तथा चन्दन कुमार सिंहको स्थानमा दीपक राज बोहरा समावेश भएका छन्।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका राम लामा र गणेश कार्कीलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा स्थानान्तरण गरिएको छ। सोही समितिबाट जगदीश खरेललाई हटाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट दीपक राज बोहरा र बब्लु गुप्तालाई राज्य व्यवस्था तथा सुशासन समितिमा सारिएको छ। यस्तै, रहबर अन्सारीलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा जिम्मेवारी दिइएको छ।
हरि प्रसाद भुसाललाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा तथा चन्दन कुमार सिंहलाई उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार संसदीय समितिहरूको कार्यसम्पादन प्रभावकारी बनाउन तथा कार्यगत सन्तुलन कायम गर्न यो पुनर्संरचना गरिएको हो।






