रसुवा । भोटेकोसीमा आएको विनाशकारी बाढीपछि बेपत्ताहरूको खोजी गर्ने क्रममा रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।
उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी सुरुङबाट ६ वटै शव बाहिर निकालेको जनाएको छ।
सुरुङभित्र हिलोले पुरिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको उद्धार टोलीले जनाएको छ। त्यस क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनासँग सम्बन्धित केही व्यक्ति सम्पर्कविहीन भएका थिए।






