भारतले लिपुलेक नाकाबाट भारत र चीनबीच पुनः सुरु गरिएको सीमा व्यापारबारे नेपालको दाबिलाई अस्वीकार गर्दै यसलाई ऐतिहासिक प्रमाण र यथार्थमा आधारित नभएको बताएको छ । भारतिय विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता रणधीर जैसवालले बाँकी सीमा समस्याहरूको समाधानका लागि रचनात्मक अन्तरक्रियाका लागि खुला रहेको बताएका छन् ।
उनले भारतिय संचारमाध्यालाई भारत र चीनबीच लिपुलेक नाकाबाट हुने सीमा व्यापार १९५४ मा सुरु भएको हो र दशकौंदेखि निरन्तर चलिरहेको बताएका छन् । उनले कोभिड महामारी र अन्य कारणले केही समय रोकिएको यो व्यापार दुवै पक्षको सहमतिमा पुनः सुरु गरिएको प्रवक्ता जैसवालाई उदृत गर्दै भारतिय संचारमाध्यामले जनाएका छन् ।
नेपालले हालै यो व्यापार पुनः सुरु गरिएको विषयमा चासो व्यक्त गर्दै आफ्नो धारणा सार्वजनिक गरेको थियो । प्रवक्ता जैसवालले थपे, ‘भू–भागसम्बन्धी कुनै पनि एकपक्षीय, कृत्रिम दाबी स्वीकार्य हुँदैन । यस्ता दाबीहरू न त न्यायसंगत छन्, न त ऐतिहासिक तथ्यहरूमै आधारित छन् ।’ भारतले नेपालसँग बाँकी रहेका सीमासम्बन्धी मुद्दाहरू समाधान गर्न संवाद र कूटनीतिमार्फत् सकारात्मक रुपमा काम गर्न तयार रहेको पनि प्रवक्ताले बताएका छन् । चीन र भारतले लिपुलेकबाट सीमा व्यापार सुरु गर्ने सहमति गरेपछि नेपालले आपत्ति जनाएको छ ।






