नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन चाहना गणतन्त्रका लागि खतराको संकेत हुने बताएका छन् । प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किदा गणतन्त्रप्रति अनास्था फैलिने तर्क गरे ।
उनले भने– “पूर्वराष्ट्रपति संविधानको संरक्षक हो । सेनाको परामाधिपति भइसकेको व्यक्ति हो । उहाँ सक्रिय राजनीतिमा फर्किंदा गणतन्त्रप्रति नै अनास्था र अविश्वास पैदा गर्छ । त्यो गल्ती पार्टीहरूले गर्नु हुँदैन ।”
माओवादीले पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको पोखरेलको भनाइ थियो । माओवादीले लोकतन्त्र सिक्दै गरेको पार्टी भएको भन्दै महासचिव पोखरेलले एमाले र कांग्रेसले माओवादीलाई लोकतन्त्र सिकाउनुपर्ने बताए । महासचिव पोखरेलले माओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनुपर्नेमा जोड दिए ।






