सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन आज गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालुले विशेष दिनको रूपमा लिने गरेका छन्। आज सवैरै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रहेका छ । शनिबार अमुक्ताभरण सप्तमी भएकाले व्रतालु एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन छ ।
‘ठूली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर बर्तालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन्। व्रतालुले धारण गर्ने विशेष प्रकारको धागोअर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ। साउ, अपामार्ग, तिललगायत वनस्पतिले गौराको प्रतिमूति बनाइ पूजाआजा गर्ने चलन रही आएको छ। खेतबारीबाट साउ, अपामार्गलगायतका वनस्पतिको प्रतिमूर्ति बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ। तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै महिलाले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रहेको छ ।
यसका साथै साँझको समयमा व्रतालु महिलाहरूले कुण्ड स्नान गर्ने चलन छ। आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमीअर्थात् अठ्यावालीका दिन बर्तालु महिलाहरूले धारण गर्ने गर्छन्। नयाँ दुबधागोहरू आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रही आएको छ। गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी बर्तालु महिलाले राति मिठोमसिनो खाना खाने चलन छ।
मौलिक पर्वका रूपमा समेत रहेको गौराको मुख्य दिन भोलि गौराष्टमीअर्थात् अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ। गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत खेल्ने चलन रही आएको छ। सुदूरपश्चिममा दशैँभन्दा पनि बढी महत्त्व दिइने गौरा पर्वका लागि परदेशिएकाहरू पनि घर फर्किने गर्छन्।






