नेकपा एमालेको सक्रिय राजनीतिमा फर्केकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान वीरगञ्ज जाँदै छन् । उनी वीरगञ्जमा आयोजित एक सामाजिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागि हुनका लागि विरगंज जान लागेकी हुन् । वीरगञ्जमा महिला उद्यमी सम्मान कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागि हुने विमान मार्फत सिमरा हुँदै विहान १० बजे विरगञ्ज पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
त्यसअघि काठमाडौंबाट सिमरा पुगेपछि एमाले नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत र सम्मान गर्ने कार्यक्रम राखिएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले सामाजिक सञ्जालबाट बिहान पौने ९ बजे भण्डारीको स्वागतका लागि सिमरा विमानस्थलमा उपस्थित हुन सो क्षेत्रका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।
उनले विद्यादेवी भण्डारी नेपाली राजनीतिको एकजना सम्मानित नाम उल्लेख गर्दै लेखेका छन्, ‘नेकपा एमालेको केन्द्रीय नेतृत्वमा हुँदा होस या सरकारमा हुँदा, दुई पटक उपाध्यक्ष हुँदा या देशको राष्ट्रपतिको रूपमा अत्यन्त गरिमामय ढंगले कुशलतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुभएको छ ।
नेपालमा समावेशिता र महिला सहभागिताका लागि वहाँले इतिहासमै सम्मान योग्य भूमिका निर्वाह गर्नु भएको छ ।’ पौडेलले नेकपा एमालेले ‘गणतन्त्रको गौरव’ का रूपमा सम्मानित गरेको आदरणीय व्यक्तित्व सम्माननीय पूर्व राष्ट्रपतिलाई बारामा स्वागत तथा सम्मान गर्नु सबैको कर्तव्य हो भनेका छन् ।






