नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी ओली सांघाई सहयोग संगठन एससीओ शिखर सम्मेलनमा सहभागी भएर भदौ १८ गते स्वदेश फर्किएको दुई दिनपछि डा कोइराला भदौ २० गते चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।
चीनको शान्सी प्रान्तस्थित सियानमा रहेको शान्सी विश्वविद्यालयको राजनीतिशास्त्र विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन डा. कोइराला चीन जान लागेका हुन् । विश्वविद्यालयले आयोजना गरेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ सम्बन्धी कार्यक्रममा डा. कोइराला सहभागी हुने उनी निकट स्रोतले जनाएको छ ।
भ्रमणका क्रममा उनले चिनियाँ नेताहरूसँग पनि भेटवार्ता गर्ने जनाइएको छ । नेपाली कांग्रेसको भावी नेतृत्वको दौडमा रहेका कोइरालालाई चीनले विश्वविद्यालयको कार्यक्रममा निमन्त्रणा पठाएको हो । यसअघि पनि चीनले उनलाई विभिन्न कार्यक्रममा सहभागी गराउन खोजे पनि कोइरालाले सहभागिता जनाएका थिएनन् ।






