सुनसरीको झुम्का कारागारमा चार दिनभित्र तीन जना कैदी बन्दीको मृत्यु भएको छ। कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएको छ । तर के रोग हो अझै पत्ता लाग्न सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पछिल्लो पटक बुधबार दिउँसो अचानक बेहोस् भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको छ।
यसअघि गत १५ गते एक जना र १६ गते अर्का एक कैदीको मृत्यु भएको थियो। अहिले सोही कारागारका उच्च ज्वरोका कारण १३ जना विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत छन्।
कारागार प्रशासनका अनुसार सुनसरीको गढी गाउँपालिका–६ बस्ने ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो।
कारागारमा विरामी बढ्न थालेपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी बुधबार रातिदेखि नै स्वास्थ्य शिविर सञ्चालन गरेको छ। झुम्का कारागारमा आजको गन्ती अनुसार १७ सय ९५ कैदी रहेको कारागार प्रशासनले जनाएको छ।






