राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सेवामा नागरिकको समान पहुँचको हक कार्यान्वयन गर्न स्वास्थ्य सेवालाई सुलभ र पहुँचयोग्य तुल्याउन पूर्वाधार विस्तारसँगै सेवा, अस्पताल, चिकित्सक, स्वास्थ्य जनशक्ति तथा सेवाग्राहीबीचको असन्तुलन घटाउनेतर्फ ध्यान दिन जरुरी रहेको बताएका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्वस्थ नागरिक र सभ्य समाज निर्माण हाम्रो साझा कर्तव्य भएको उल्लेख गर्दै स्वास्थ्य सेवा गरिब, असहाय र विपन्नसहित सबै नागरिकले सहजै पाउने प्रवन्ध गर्नुपर्ने बताए । राष्ट्रपति पौडेलले विदेशमा महँगोमा उपचार गर्नुपर्ने बाध्यता, झुक्याएर संवेदनशील मानव अङ्ग बिक्री तथा चोरी गर्ने प्रवृत्तिलाई निषेध गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने – ‘यस्ता गैर–कानूनी गतिविधि नियन्त्रण गर्न प्रभावकारी निकाय र प्रभावकारी अनुगमनका लागि सम्वद्ध पक्षले ध्यान केन्द्रित गरुन् भन्ने म चाहन्छु ।’
राष्ट्रपति पौडेलले आधुनिकतासँगै परिवर्तन हुँदै गएको हाम्रो खानपिन र जीवनशैली, वैदेशिक रोजगारीको क्रममा जानेहरू त्यहाँको वातावरणमा सहज घुलमिल हुन नसक्नेजस्ता कारणले मानव अङ्ग फेल हुने दर बढ्दो रहेको सम्वद्ध विज्ञहरूले औंल्याएका स्मरण गराए । राष्ट्रपति पौडेलले अङ्ग दान जीवन दान भएको उल्लेख गर्दै स्वास्थ्य सेवा उत्कृष्ट मानव सेवा हो भने ।
उनले भने – ‘नविनतम ज्ञान, प्रविधि, जनशक्ति, स्रोतसाधन र पूर्वाधारको प्रवन्ध तथा अङ्गदानको महत्व, चेतना र जागरण अभियानलाई सशक्त बनाउँदै प्रत्यारोपणसम्बन्धी स्वास्थ्य सेवामा आफूलाई उत्कृष्ट केन्द्र बनाउनु सराहनीय कार्य हो । उपचारमा दुर्लभ मानिने एकै व्यक्तिमा एकै पटक मृर्गौला र कलेजो तथा एकै व्यक्तिमा तेस्रो पटक मृगौला प्रत्यारोपण गर्नेजस्ता कठिन कार्यले यहाँका चिकित्सकको उत्कृष्ट कार्यक्षमतालाई प्रमाणित गर्दछ ।’
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाली चिकित्सकबाट मृर्गौला, कलेजो प्रत्यारोपणजस्ता सेवा स्वदेशमै उपलब्ध हुँदा उपचार गर्न विदेश जानुपर्ने झन्झट, प्रक्रिया र खर्चिलो समस्याबाट बिरामीले मुक्ति पाएका भन्दै मानव अङ्ग फेल भएका बिरामीको उपचार, प्रत्यारोपण र राहत सेवा सहज बनाउन यससम्बन्धी सेवा विस्तार गर्न आवश्यक रहेको बताए ।






