इरानका राष्ट्रपति मसूद पेजेशकियनले इरानको आणविक हतियार बनाउने कुनै मनसाय नरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघ महासभामा उनले भने, “म यो महासभासामु इरानले कहिल्यै पनि आणविक बम बनाउने प्रयास गरेको छैन, न त कहिल्यै गर्नेछ भनेर फेरि एकपटक घोषणा गर्दछु । हामीलाई आणविक हतियार चाहिँदैन ।”
यद्यपि, पेजेशकियनले आफ्नो सम्बोधनमा यी देशहरू वर्षौंदेखि खराब नियतले काम गरिरहेको बताए । राष्ट्रसंघ महासभामा बोल्दै मसूद पेजेशकियनले इजरायल र अमेरिकाका हालैका हमलाहरूको तीव्र आलोचना गरे । उनले यस प्रकारका हमलाहरूले अन्तर्राष्ट्रिय विश्वास र क्षेत्रमा शान्तिको सम्भावनालाई गहिरो क्षति पुर्याएको बताए ।
पश्चिमी देशहरू आणविक महत्वाकांक्षालाई लिएर चाँडै नै इरानमाथि नयाँ अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाउने तयारीमा रहेका बेला इरानी राष्ट्रपतिले विश्वभरका नेताहरूका सामु यस्तो बताएका हुन् । यसअघि, अगस्ट २८ मा बेलायत, फ्रान्स र जर्मनीले इरानमाथि संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरू पुनः लागु गर्नका लागि ३० दिने प्रक्रिया सुरु गरेका थिए, जुन सेप्टेम्बर २७ मा समाप्त हुँदै छ ।
यसै वर्ष जुनमा १२ दिन भएको इजरायल–इरान युद्धपछि पहिलो पटक पेजेशकियनले कुनै विश्वव्यापी मञ्चमा आफ्नो कुरा राखेका हुन् । उक्त युद्धमा इरानका धेरै शीर्ष सैन्य अधिकारीहरूको मृत्यु भएको थियो ।






