फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले नियुक्त भएको २६ दिनमै राजीनामा दिएका छन् । उनले सेप्टेम्बर ९ मा प्रधानमन्त्रीको पद सम्हालेका थिए भने अक्टोबर ६ मा राजीनामा दिए । राष्ट्रपति इमानुएल म्याक्रोनले उनको राजीनामा स्वीकृत गरेका छन् ।
प्रधानमन्त्री लेकोर्नुले आइतबार नयाँ मन्त्रिपरिषद्को घोषणा गरेका थिए भने मन्त्रीपरिषद् घोषणा गरेको १२ घण्टापछि नै राजीनामा दिएर सबैलाई चकित पारेका छन् । लेकोर्नु १३ महिनाभित्र देशका चौथो प्रधानमन्त्री थिए ।
यसअघिका प्रधानमन्त्री फ्राँस्वा बायरूले विश्वासको मत नपाएपछि सेप्टेम्बरमा राजीनामा दिएका थिए । ३९ वर्षका लेकोर्नुलाई राष्ट्रपति म्याक्रोनको निकट सहयोगी मानिन्छ ।
उनी सन् २०२२ मा म्याक्रोन दोस्रो पटक राष्ट्रपति बनेपछि पाँचौ प्रधानमन्त्री थिए । गत वर्ष संसद् भंग भएपछि तेस्रो प्रधानमन्त्री थिए ।






