चौधरी समूह (सीजी) ग्रुपले जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ । सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । यो आफूहरूको बाचामात्र नभएर गहिरो कर्तव्य र श्रद्धा भएको उनको भनाइ छ । यसका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न पनि सीजीले अनुरोध गरेको छ । जेन जी आन्दोलनका कारण भौतिकरूपमा ठूलो क्षति व्यहोरेको थियो ।
निर्वाण चौधरीले सामाजिक संजालमा लेखेका छन् –‘आन्दोलनका शहीदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान व्यक्त गर्दछौँ । उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ । यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ ।’
निर्वाणले हामी सँगै उभिनेछौँ र पुनःनिर्माण गर्नेछौँ भन्दै आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्ने उल्लेख गरेका छन् । निर्वाणले यसअघि आन्दोलनकारीले निवासदेखि उद्योग, शोरुमसम्म गरिएको लुटपाट, तोडफोड र आगजनी गरेपनि आफूहरूको सपना जिउँदै रहेको भन्दै उच्च मनोबल देखाएका थिए ।







