अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूविरुद्ध ‘नो किङ्स’ नामक आन्दोलनका प्रदर्शनहरू तीव्र बन्दै गएको छ । शनिबार बिहान सुरु भएको न्यूयोर्क सिटीको टाइम्स स्क्वायरमा हजारौँको भिड जम्मा भएसँगै देशका अन्य प्रमुख शहर वाशिङटन डीसी, शिकागो, मियामी र लस एन्जलसमा पनि विरोध प्रदर्शन फैलिएको छ ।
‘लोकतन्त्र, राजतन्त्र होइन’ र ‘संविधान वैकल्पिक होइन’ लेखिएका प्लेकार्डसहित प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । आयोजकहरूले आन्दोलनलाई पूर्ण रूपमा शान्तिपूर्ण रहेको बताउँदै अहिंसा नै आफ्नो मूल सिद्धान्त भएको दोहोर्याएका छन् । न्यूयोर्क प्रहरीले शहरभर एक लाखभन्दा बढी सहभागी भएको र कुनै पनि गिरफ्तारी नभएको जानकारी दिएको छ ।
प्रदर्शनकारीहरू ट्रम्प प्रशासनको अधिनायकवादी झुकाव, आप्रवासीमाथिको कारबाही र संघीय शक्तिको दुरुपयोगविरुद्ध आक्रोशित देखिएका छन् । उनीहरुले आफूहरूसँग अब सडकमात्र बाँकी रहेको भन्दै प्रर्दशनमा नारावाजी गरेका छन् । आन्दोलनप्रति राजनीतिक नेताहरूले पनि प्रतिक्रिया जनाएका छन् । डेमोक्र्याट नेता चक शुमरले ‘अमेरिकामा राजा छैनन्’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।






