अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दक्षिण कोरियाको बुसानमा करिब एक घण्टा चालिस मिनेट कुराकानी भएको छ । व्यस्त तालिकाका कारण दुवै नेताको भेट बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। दुई राष्ट्रपतिबीचमा यो ६ वर्षपछि भएको पहिलो प्रत्यक्ष भेट हो।
वार्ताका विषयबारे विस्तृत जानकारी अझै सार्वजानिक भइसकेका छैनन् । तर बैठकलाई चीन–अमेरिका सम्बन्धमा नयाँ चरणको सुरुवात भनेर हेरिएको छ। बैठक अघि ट्रम्पले आजै चीनसँग व्यापार सम्झौता साइन हुन सक्ने बताएका थिए । वार्ता सुरु हुनुअघि दुवै नेताले हात मिलाएर अभिवादन गरेका थिए। ट्रम्पले जिनपिङलाई ‘एक सम्मानित र महान देशका महान नेता’ भन्दै प्रशंसा गरे।
वार्तामा दुवै देशका ७–७ जना सहभागी थिए । अमेरिकाबाट ट्रम्पसँग विदेशमन्त्री मार्को रुबियो, व्यापार प्रतिनिधि जेमिसन ग्रियर, अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक, चीफ अफ स्टाफ सूजी विल्स, र चीनस्थित अमेरिकी राजदूत डेभिड पर्ड्यू सहभागी थिए।
चीनतर्फबाट सीका साथमा कै क्यू, विदेशमन्त्री वाङ यी, उप विदेशमन्त्री मा झाओक्सू, उप प्रधानमन्त्री हे लिफेङ, वाणिज्यमन्त्री वाङ वेन्टाओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ सान्जी उपस्थित थिए।






