हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतविद्ध शानदार जित दर्ता गरेको छ । शनिबार सम्पन्न बाउल लिगअन्तर्गतको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो । नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनायो ।
नेपालका लागि राशिद खानले ३ विकेट लिए भने बसिर अहमदले पनि ३ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ६ ओभरमा कुनैपनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । खेलमा नेपालका रशिद खान म्यान अफ दि म्याच घोषित भए ।
यसअघि आजै सम्पन्न आफ्नो दोस्रो खेलमा पनि पराजित बनेको थियो । आजको पहिलो खेलमा नेपाल दक्षिण अफ्रिकासँग पराजित भएको हो । दक्षिण अफ्रिकाले नेपाललाई ४ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ दशमलव ४ ओभरमा पुरा गर्दै जित हात पारेको हो । प्रतियोगिता अन्र्तगत हिजो सम्पन्न आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । निर्धारीत ६ ओभरमा पाएको १ सय १३ रनको लक्ष्य पुरा गर्न नसक्दा नेपाल १७ रनले अफगानिस्तानलाई नतिजा सुम्पिएको थियो ।
आजै भएको अर्को खेलमा नेपाल श्रीलंकासँग पराजित बन्यो । नेपालले दिएको ८६ रनको लक्ष्य श्रीलंकाले ५ दशमलब ३ ओभरमा पार गर्दै नेपाललाई हराएको हो ।
शरद भेषवाकरको कप्तानीमा प्रतियोगिता खेलिरहेको नेपालले हिजोको खेलमा उत्कृष्ट बलिङ गरेपनि ब्याटर नचल्दा जित निकाल्न सकेन । प्रतियोगितापछि भेषवाकरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दैछन् । नोभेम्बर ९ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाली टोलीमा कप्तान शरद भेषावकर ,सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान रहेका छन् । प्रतियोगिताअन्र्तगत भोली नेपालले यूएईको सामना गर्नेछ ।






