मेक्सिको सिटीमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको झडपमा कम्तिमा सयजना प्रहरी अधिकारी घाइते भएको प्रहरीले जनाएको छ। मेक्सिकोको राजधानीमा शनिबार हजारौं प्रदर्शनकारीले हिंसात्मक अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउमको सरकारको विरोधमा जुलुस निकालेका छन्। यो र्याली जेन जेड युवा समूहहरूद्वारा आयोजित गरिएको थियो ।
प्रदर्शनकारीहरूले सेनबाउम बस्ने राष्ट्रिय दरबारको सुरक्षा गर्ने अवरोधका केही भाग भत्काइदिए। परिसरको सुरक्षामा खटिएका प्रहरीले भीडमाथि अश्रुग्यास प्रहार गरेको थियो ।
युवाहरूले देशभरि बढ्दो हिंसा र अपराध नियन्त्रणका लागि सरकारले चासो नदिएको आरोप लगाएका छन्। नोभेम्बर १ मा मिचोआकान राज्यको उरूआपान नगरका मेयर कार्लोस म्यान्जोको सार्वजनिक कार्यक्रममै गोली हानी हत्या भएको थियो। यो घटनापछि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको, हिंसा भड्काएको भनेर युवाहरू आक्रोशित भएको बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालबाटै आह्वान भएको प्रदर्शनमा हजारौं युवाहरू सहभागी भएका हुन्। शनिबार प्रदर्शनकारीहरू राष्ट्रपति क्लाउडिया सेइनबाउमको निवासमा पस्न खोजेपछि माहोल तनावपूर्ण बनेका थिए। राष्ट्रपति भवनको वरपर लगाइएका बारहरू प्रदर्शनकारीले भत्काउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।






