ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोलाई शनिबार ब्राजिलको राजधानीस्थित आफ्नै निवासमा पक्राउ गरिएको छ। संघीय प्रहरीले एक वक्तव्य जारी गर्दै प्रहरी स्वयंले माग गरेको र सर्वोच्च अदालतले स्वीकृत गरेको रोकथामात्मक पक्राउ पुर्जी कार्यान्वयन गरेको जनाएको छ। उनलाई ब्रासिलियास्थित आफ्नै घरबाटै पक्राउ गरिएको हो।
सीएनएनकाअनुसार, बोल्सोनारोका जेठा छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले पूर्व राष्ट्रपतिको अपार्टमेन्ट रहेको आवासीय परिसर अगाडि आयोजना गरेको निगरानीरधरना कार्यक्रमका कारण प्रहरीद्वारा रोकथामात्मक पक्राउको अनुरोध गरिएको हो।
बोल्सोनारोलाई यसै वर्ष २०२२ को निर्वाचनमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएपछि पनि सत्तामा टिकिरहने योजना बनाएको आरोपमा २७ वर्षको जेल सजाय सुनाइएको थियो। उनी हाल घरमै नजरबन्दमा रहेका थिए।
उनीमाथि कू योजना बनाएको मात्रै होइन, सशस्त्र आपराधिक समूहमा सहभागिता, बल प्रयोग गरेर ब्राजिलको लोकतान्त्रिक व्यवस्था अन्त्य गर्ने प्रयास, सरकारी संस्थामाथि हिंस्रक हमला र सन् २०२३ जनवरी ८ मा उनका समर्थकहरूले सरकारी भवनहरू तोडफोड गर्दा सुरक्षित गरिएको सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा पनि दोषी ठहर गरिएको थियो।





