बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्डको सजायको विरोधमा उनको पार्टी अवामी लिगले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । सो पार्टीले नोभेम्बर २५ देखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन र प्रतिरोध मार्च निकाल्ने घोषणा गरेको हो ।
हसिनालाई सुनाएको मृत्युदण्डको सजायलाई अवैध न्यायाधिकरणको अवैध फैसला बताउँदै अवामी लिगले यसलाई राजनीतिक षड्यन्त्र बताएको छ । नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई मानवताविरुद्धको अपराध गरेको आरोपमा फाँसीको सजाय सुनाएको थियो ।
गत वर्ष अगस्ट ५ मा विद्यार्थीको नेतृत्वमा भएको जुलाई विद्रोह नामको हिंसात्मक विरोध प्रदर्शनले शेख हसिनाको अवामी लिग सरकारलाई ढालेको थियो । गत वर्ष जुलाई १५ देखि अगस्ट १५ बीचमा भएको आन्दोलनमा लगभग १४ सय मानिस मारिएका थिए ।






