तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले आफ्नी छोरी र ज्वाइँलाई प्रमुख सरकारी पदमा नियुक्त गरेकी छन्।
यहि नोभेम्बर १७ मा डोडोमाको चामविनो स्टेट हाउसबाट टेलिभिजन सम्बोधन गर्दै सामियाले २७ मन्त्री र २९ उपमन्त्रीहरूको घोषणा गरिन् जसमध्ये छोरी वानु हफीद अमीरलाई शिक्षा उपमन्त्री र उनका पति मोहम्मद माचेन्गेरवाले स्वास्थ्य मन्त्रीको पदमा नियुक्त भएको अफ्रीका न्युजले जनाएको छ ।
४३ वर्षीय वानुले जाञ्जिबारको माकुन्डुची निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्छन् भने ४६ वर्षीय माचेन्गेरवा पवानी क्षेत्रको रुफिजी निर्वाचन क्षेत्रका विधायक हुन्।
मन्त्रिपरिषदमा पूर्व राष्ट्रपति जकाया किकवेटेका छोरा रिध्वानी किकवेटेलाई पनि सार्वजनिक सेवा व्यवस्थापन र सुशासन मन्त्रीमा नियुक्त गरिएको छ। ४६ वर्षीय सांसदले पवानीको चालिन्जे निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्छन्।
सामियाले गरेको नियुक्ति केही अफ्रिकी राष्ट्रहरूमा भएको प्रवृत्तिको प्रतिबिम्ब मानिएको छ ,जहाँ नेताहरूले आफन्त वा सहयोगीहरूलाई सरकारी भूमिकामा राख्छन्।
युगान्डामा राष्ट्रपति योवेरी मुसेभेनीका परिवारका धेरै सदस्यहरू प्रमुख पदहरूमा छन्, जसमा प्रथम महिला जेनेट मुसेभेनी शिक्षा मन्त्रीका रूपमा र उनीहरूका छोरा जनरल मुहोजी कैनेरुगाबाले रक्षा बलको नेतृत्व गरिरहेका छन्।






