नबिल बैंकले चिनियाँ अदालतबाट झण्डै दुई वर्षपछि न्याय पाएको छ । चिनियाँ ठेकेदार कम्पनीसँग सम्बन्धित एक अर्ब ६ करोड ९६ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बापत भुक्तानी गर्न चिनियाँ बैंकलाई आदेश दिएको हो । ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत परियोजनाका लागि ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी (चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीं) सँगको विवादमा बैंकले काउन्टर ग्यारेन्टी दाबी गरेको थियो । तर पाएको थिएन ।
खासमा चिनियाँतर्फको निर्माण कम्पनी सुइफा एएनएचई समूहले उक्त जलविद्युत परियोजनाको लागि चीनमा रहेको एभरब्राइट बैंकको काउन्टर ग्यारेन्टीमा स्थानीय बैंक नबिलले ग्यारेन्टी दिएको थियो । तर ठेक्का पाएको उक्त चिनियाँ कम्पनीले समयमा काम गरेन ।
यसपछि माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना प्रतिनिधिले २०८० मंसिरमै ठेक्का रद्द गरी बैंक ग्यारेन्टी जफत गरेको थियो । आयोजनाको ठेक्का रद्दपछि बैंक ग्यारेन्टी जफत गरे पनि नबिल बैंकले भने सो वापतको भुक्तानी पाएन । उल्टै चिनियाँतर्फको निर्माण कम्पनी सुइफा एएनएचई समूहले बैंक ग्यारेन्टी वापतको रकम तिर्न नपर्ने भन्दै उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।






