डा. बद्री रिजालको नेतृत्वमा नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि टिम बन्ने भएको छ । संघका हाल वरिष्ठ उपाध्यक्ष रहेका डा रिजालले अध्यक्षमा उमेदवार बन्ने छन् भने हालका महासचिव डा. सन्जिब तिवारी वरिष्ठ उपाध्यक्ष र डा विश्वराज दवाडीले महासचिवको उमेदवार बन्नेछन् । डा दवाडीले यसअघि अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।
तर डा रिजाल र डा तिवारीको टिममा आफू महासचिवमा बस्ने भन्दै उनले महासचिवमा उम्मेदवारी दिने भएका हुन्। डा रिजाल, डा तिवारी र डा दवाडीको समिकरणमा बन्ने टिममा रहने अन्य पदका उम्मेदवारहरु लगभग तय भइसकेको छ । आज (मंगलबार) छलफल गरेर टिमको नाम सार्वजनिक गर्ने तयारी भएको टिममा रहेका एक सदस्यले जानकारी दिए। संघभित्र एकता, पेशागत मर्यादा र सेवामूलक भूमिकालाई सुदृढ गर्ने उद्देश्यसहित टिम अघि बढाइएको जनाइएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै टिमले चिकित्सकहरूको हकहित, संस्थागत सुधार र पेशागत सुरक्षालाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्ने तयारी गरेको बताइएको छ। यसअघि संघको अध्यक्ष पदका लागि डा मंगल रावलले घोषणा गरिसकेका छन्। संघको महासचिवमा टिम मंगलबाट डा पदम नेपाली र स्वतन्त्र तर्फ डा अमृत भुसालले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।






