२५ औ संस्करणको आहारारा पोखरा गोल्ड कपको उपाधीका लागि आज आयोजक सहारा क्लब र जाउलाखेल युथ क्लब भिड्दैछन् । १२ औँ संस्करणको उपाधि जितेको सहारा १३ वर्षपछि पुन उपाधी उचाल्ने योजनामा रहँदा १४ वर्षपछि फाइनल पुगेको जाउलाखेल इतिहास रच्ने रणनीतिमा छ ।
सहाराले २०७० मा मनाङ मस्र्याङ्दी क्लबलाई १—० गोलले पराजित गरी उपाधि जितेको थियो । त्यस्तै जाउलाखेल २०६८ मा फाइनल पुग्दा मनाङसँगै २—० ले पराजित भएको थियो । यो संस्करणमा जाउलाखेलले पहिलो खेलमा मछिन्द्र, चर्च ब्वाइज र सेमिफाइनलमा आभा फुटबल क्लब उज्बेकिस्तानलाई १—० ले पराजित गरी फाइनल यात्रा तय गरेको हो ।
उता सहाराले गोरखा इन्टरनेसनल फुटबल क्लब हङकङ, नेपाल पुलिस र सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लबलाई पनि सडेन डेथमा ७—६ मा पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो । फाइनल खेलअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले उपाधि जित्ने दाबी गरे ।
आज हुने फाइनल खेलको विजेता टोलीले १४ लाख एक हजार रुपैया नगद पाउनेछ भने उपविजेताले सात लाख रुपैया नगद पुरस्कार पाउनेछ । यस पटकको प्रतियोगितामा तीन विदेशी टोलीसहित १२ टिम सहभागी भएका थिए ।






