नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टी पुनर्गठनका लागि ३ महिना भित्र विशेष महाधिवेशन बोलाउन माग गरेका छन् । परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वत्र पार्टी पुनर्गठनको माग उठेको भन्दै विशेष महाधिवेशन बोलाएर तीन महिनाभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न सकिने स्पष्ट पारे । उनले अहिलेका लागि विधानको विशेष महाधिवेशनसम्बन्धी धाराको प्रयोग गर्नु उपयुक्त हुने बताए । सहमहामन्त्री परियारले भने नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन नै उपयुक्त विकल्प दाबि गरे ।
उनले भने–‘पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमन हुनुपर्ने जस्ता विविध मागहरू उठेका छन्, मेरो व्यक्तिगत विचारमा पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन बोलाउनु र निर्वाचन गर्नु उपयुक्त हुने देखेको छु ।’ विधानको उक्त दफामा केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन माग गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ ।
उनले लोकतान्त्रिक व्यवस्थामाथि नै खतरा पैदा भएको स्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले सुझबुझपूर्ण पहलकदमी लिएको भन्दै आभार समेत व्यक्त गरेका छन् । आगजनी र तोडफोडका कारण देशले ठुलो क्षति ब्यहोरेको भन्दै उनले सरकारले राष्ट्रिय विपद्को घोषणा गरी क्षतिग्रस्त संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत देशै भरिका सार्वजनिक संरचनाको पुनर्निर्माण अभियान थाल्नुपर्ने बताएका छन् ।






