काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत मेइदा तोरुले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीबाट प्रभावितप्रति जापानका समकक्षी सानाए ताकाइची र परराष्ट्रमन्त्री तोशिमित्सु मोतेगीले व्यक्त गरेको सद्भाव, ऐक्यबद्धता, सहानुभूति तथा समवेदनाप्रति धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्री शाहले जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको राहत सामग्री तथा अनुदान सहयोगका लागि पनि आभार व्यक्त गरे । उनले जापान नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनामा समेत जापानको सहयोगको अपेक्षा व्यक्त गरे ।
भेटका क्रममा राजदूत तोरुले जापान सरकारले नेपालमा विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना तथा पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल बाढी तथा अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै राजदूत तोरुले विपद्का कारण र त्यसबाट हुने क्षतिबारे थप वैज्ञानिक अध्ययन तथा अनुसन्धान आवश्यक रहेकोमा जोड दिए ।
उनले नेपाल–जापानबीच लामो समयदेखि कायम आपसी सम्बन्ध र सहकार्यका विभिन्न आयामबारे पनि धारणा राखे । पूर्वाधार विकास, प्रविधि हस्तान्तरण तथा शिक्षा क्षेत्रको सुधारलगायत विषयमा दुई देशबीच सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।
जापान लामो समयदेखि नेपालको विकास साझेदारका रूपमा रहँदै आएको छ ।






