अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको क्रममा पाँच नयाँ मन्त्रीको नाम सिफारिस गरेकी छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको सूचीमा पूर्वन्यायाधीश, प्रशासक, पत्रकार, वैज्ञानिक र नीति विज्ञहरू समेटिएका छन्। प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दुबैको जिम्मेवारी दिनेगरी सिफारिस गरेकी हुन्।
डा. संगिता कौशल मिश्रा, जो स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवको रूपमा कार्यरत थिइन्, स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा सिफारिस भएकी छन्। मन्त्री बन्ने सम्भावना देखिएपछि उनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा सिफारिस गरिएको छ। इमेज टिभीका सम्पादकसमेत रहेका खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्।
महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको छ। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन विज्ञान र प्रविधिको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन्। ग्रामीण भेगमा इन्टरनेट सेवा पुर्याउने योगदानका लागि उनी रोमन म्यागसेसे पुरस्कारद्वारा सम्मानित भएका थिए। त्यसैगरी, मदन परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा सिफारिस गरिएको छ।
उनी संविधानसभाको बेला राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगका संयोजक थिए र सामाजिक समावेशिता तथा नीति निर्माणमा सक्रिय भूमिका खेलेका थिए। यसअघि प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषदमा रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास र ओमप्रकाश अर्याल गृह मन्त्रीको रूपमा नियुक्त भइसकेका छन्।
नयाँ मन्त्रीको शपथ तथा नियुक्ति भोलि आज हुनेछ । तर अझै पनि २ जना मन्त्री फेरबदल हुन सक्ने अनुमान गरिएको छ । मिश्रा र सिन्हाको नाममा अझै पनि सहमति हुन बाँकी रहेको बताइएको छ ।






