चितवनको तुइनखोलामा पहिरो झरेको छ । जसका कारण नारायणगढ–मुग्लिन सडक खण्ड पूर्णरुपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयले वैकल्पिक रुट प्रयोग सुझाव दिएको । ठूलो पहिरो खसेको र खस्नेक्रम जारी रहेपछि चितवन प्रशासनले वैकल्पिक सडक प्रयोगका लागि सूचना जारी गरेको छ।
विगत केही दिनदेखिनै यहाँ पहिरो खसेर यातायात प्रभावित भइरहेको छ। चितवनबाट काठमाडौँका लागि (साना गाडी मात्रै) चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ।
यसैगरी धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ। यसैगरी मकवापनुरको हेटौँडाबाट भैँसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो तथा हेटौँडा-काठमाडौँका लागि (ठूला सवारीसाधन मात्र) कान्तिलोकपथ प्रयोग गर्न सकिने छ।
यसैगरी चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै सवारीसाधन बुटवल हुँदै पोखरा जान सकिने प्रशासनले जनाएको छ। यसैगरी चितवनबाट कालीगण्डकी करिडोरको बाटो (सानो गाडी मात्रै) गैँडाकोट हुँदै पाल्पा रामपुर, भिमाद हुँदै तनहुँ निस्कन सकिने जनाइएको छ ।






