जेनजी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिवेशपछि नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक भक्तपुरको गुन्डुमा दिउँसो १ बजेका लागि बोलाइएको छ। आज बस्ने सचिवालय बैठकमा जेन–जी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नमा समीक्षा हुने बताइएको छ । जेन–जी आन्दोलनपछि पहिलो पटक एमालेको बैठक बस्न लागेको हो।
एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टलगायत नेता जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा पार्टी नेतृत्व पुनर्गठन हुनुपर्ने पक्षमा देखिएका छन्। तर ओलीले भने जेन–जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको जिम्मा लिन अस्वीकार गर्दै आएका छन्। जेन–जी आन्दोलनपछि बस्न लागेको केन्द्रीय सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाबारे गम्भीर समीक्षा गरी आवश्यक निर्णय गर्ने एमालेले जनाएको छ ।
जेन–जी आन्दोलन र त्यसको अर्को दिन भएको हिंसात्मक प्रदर्शनपछि एमालेभित्र उकुसमुकुस र सन्नाटा थियो। सेनाको ब्यारेकबाट १० दिनपछि गुन्डु सरेका ओलीले उत्पन्न राजनीतिक अवस्थाबारे नेताहरूसँग ब्रिफिङ लिएका थिए। शनिबार गुन्डुमा आयोजित सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका ओलीले जेन–जी आन्दोलनमा क्षति नहोस् भनेर निर्देशन दिए पनि स्थिति आफ्नो हातभन्दा बाहिर गएको बताएका थिए।






