जेन जी आन्दोलनका एक समूहले वर्तमान संविधान खारेज गरेर अन्तरिम संविधानको माग गरेका बेला जेनजीकै आन्दोलनका एक सूत्रधार सदस्यले भने संविधान विघटनको बाटोमा जान नहुने बताएका छन् ।जेनजी आन्दोलनको नेतृत्वकर्ता युजन राजभण्डारीले आफुहरुको आन्दोलन वर्तमान संविधान विरुद्ध नभएको स्पष्ट पारेका हुन् ।आज सामाजिक सञ्जालमार्फत जेनजीको एजेण्डाबारे प्रस्ट पार्दै राजभण्डारीले भ्रष्टाचारविरुद्ध, जवाफदेहीता र सुशासन सुनिश्चितता गर्नु नै मूल एजेण्डा भएको बताएका छन् । उनले राजनीतिक दलहरु लोकतन्त्रको आधारस्तम्भ भएको पनि बताएका छन् ।
“हो, संविधान संसोधन आवश्यक छ, विभिन्न एजेण्डासहितका आवाजहरु उठेका छन्, तर को तर संविधानलाई नै अस्वीकार गर्नु हाम्रो बाटो होईन ।”–युजनले फेसबुकमा लेखेका छन् ।
कुनैपनि संविधान संसोधनको विषय केवल वैधानिक प्रक्रियामार्फत , निर्वाचनपछि जनताको स्पष्ट मतादेशसहित , नयाँ संसदको अधिकारअन्र्तगत गरिनुपर्नेमा उनको जोड रहेको छ । “आन्दोलनमार्फत जित हासिल भयो तर अब साँचो जीत मतपेटीकाबाट गर्नुपर्छ ।” उने लेखेका छन् ।उनले थप लेखेका छन् , “हामी संविधान विघटन गर्ने बाटोतर्फ लाग्नु हुँदैन । यो सजिलै प्राप्त भएको होईन , सात दशकको संघर्ष छ ।”







