बडादशैँ एवम् नवरात्रको नवौँ दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भएपनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ। सोही अनुसार आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजाआराधना गरिँदैछ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।






