नवघोषित कुमारी आर्यतारा शाक्यलाई आज कुमारीघरमा आसन ग्रहण राइने भएको छ । स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई आज दिउँसो १२ः०५ बजेदेखि १२ः१६ बजेको बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ । त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ ।
विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने छ। तत्कालीन राजा जयप्रकाश मल्लको समयदेखि जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीकसमेत मानिन्छ ।
कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो। कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा रहेको छ। कुमारी आर्यातारा शाक्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पहिले नै स्वागत गरिसकेका छन् ।






