दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको आज अन्तिम दाहसंस्कार गरिने भएको छ । उनको महाकाली नदीमा अन्तिम संस्कार गरिने छ ।
ईजरायलबाट काठमाडौं ल्याइएको शव त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत सोमबार बेलुकी उनको शव कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा रहेको निवासमा पुर्याइएको थियो । विपिनको मृत्यु भएको जानकारी हमास समूहले २६ असोजमा सार्वजनिक गरेको थियो । त्यसै साँझ गाजाबाट इजरायलले शव तेलअभिभ ल्याएको थियो ।
मंगलबार डिएनए परीक्षणमा उक्त शव विपिनकै भएको पुष्टि गरिएको थियो । परीक्षण र पोस्टमार्टम दुवै तेलअभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा सम्पन्न भएको हो ।
०८० असोज २३ देखि हमासको कब्जामा रहेका विपिनको मृत्यु मंसिरतिरै भएको नेपाली अधिकारीलाई इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन् । दुई वर्षअघि नै इजरायलले लिएको परिवारको डिएनए परीक्षणका आधारमा शवको डिएनए परीक्षण गर्दा विपिनको शव पुष्टि भएको थियो ।






