कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको बेलैमा महाधिवेशन गर्न निर्देशन पनि दिदै कार्यबाहको जिम्मेवारी सुम्पेका थिए । तर अहिले कांग्रेस नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने प्रत्युत्पादक बहसमा अलमलिएको छ । जेन–जी आन्दोलनको हलचलसँगै नेपाली कांग्रेसभित्र अर्को आन्तरिक आन्दोलन सुरु भयो – हस्ताक्षर अभियान । नेतृत्व परिवर्तनका लागि वरिष्ठ नेता डा. शेखर कोइरालाले नियमित महाधिवेशन र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले ’विशेष महाधिवेशनको माग गरे । सबैभन्दा ठूलो समस्या नै यही भयो । १४ औं महाधिवेशनमा एउटै टिमबाट सभापति देउवासंग प्रतिष्पर्धा गरेका कोइराला र थापा विभाजित हुँदा कांग्रेसले धेरै समस्या झेल्नुपरेको हो ।
हस्ताक्षर अभियान सभापति शेरबहादुर देउवाको बिदाइका लागि मात्र हो कि नेतृत्वको चरित्र र शैलीकै परिवर्तनका लागि हो ? यही नैतिक दबाब पूर्ण प्रश्न अहिले नेपाली कांग्रेसको केन्द्रीय राजनीति निर्धारण गर्ने मुख्य विषय बनेको छ । सभापति देउवाको बिदाइको औपचारिकता मात्र हो भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समितितको म्याद थप गरेर ६ महिनादेखि १ वर्षभित्र महाधिवेशन गर्ने प्रस्ताव आउन सक्छ । तर नेतृत्व मात्र होइन सिंगै कांग्रेसको चरित्र सुधार गर्ने हो भने एकपटक पनि अवसर नपाएका नेताको (चाहे त्यो युवा होस चाहे त्यो पाको होस) संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्दै यो केन्द्रीय समिति भंग गर्न आवश्यक छ ।
अब कांग्रेस निरन्तरतामा चल्न सक्दैन् । निरन्तरतामा चलाउनु भनेको विघटनमा जानु हो । तर निरन्तरतामा चल्दैन भन्दैमा कसैलाई चिढाएर, कसैलाई भड्काएर, कसैको अपमान गरेर अर्थात कसैले जितेको वा कसैले हारेको देखिँदा कांग्रेसले समाधान दिन सक्दैन् । कांग्रेस अहिले आफू हारेर भएपनि मुलुकलाई जिताउनपर्ने आवस्थामा छ । यो बेलामा कांग्रेसका नेताहरूले अहिले पार्टीभित्र कसले जित्ने कसले हार्ने भनेर माथापाच्ची गर्ने समय होइन ।
त्यसैले निरन्तरतामा पनि नराख्ने कसैको हारजीत पनि नभएर सिंगै मुलुकलाई जिताउनका लागि वीपीपुत्र पूर्वमहामन्त्री डा शशांक कोइराला भनेझै केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउँदा उत्तम हुने देखिन्छ । यसहुँदा न कसैले जित्छ न कसैले हार्छ । यसोभएमा मात्र पुनर्जागरणको चरणका रहेको नेपालको लोकतन्त्रको नेतृत्व कांग्रेसले मात्र गर्न सक्छ । यसपछि त्यो तब सम्भव हुनेछ जब पुरानो नेतृत्वले आत्ममूल्यांकन गर्दै नयाँ पुस्तालाई जिम्मेवारी सुम्पने उदारता पनि देखाउँछ । सिंगै कार्यसमिति भंग गर्दा आम कार्याकर्तामा नेपाली कांग्रेस रुपान्तरणको सन्देश जाने निश्चित छ ।
केन्द्रीय समिति भंग गरेर अहिले केन्द्रीय समितिमा भएका नेताहरू हैन, एक पटक पनि सांसद नभएका मन्त्री नभएका र केन्द्रीय समितिमा नपुगेका नेताहरूको कम्तिमा ७७ जनाको एउटा टिम बनाएर महाधिवेशन आयोजक समिति बनाउन आवश्यक छ । ७७ जना यस अर्थमा कि कांग्रेसको क्रियाशील सदस्यको समाधान गर्नका लागि आयोजक समितिको सदस्य जिल्लामा नै पुगेर केहि दिन बसेर समाधान निकाल्न सकोस । एकपटक पनि अवसर नपाएका नेताको संयोजकत्वमा आयोजक समिति बनाउँदा मात्र कांग्रेसमा कसैको हार जित हुँदैन् । यसो भएमा मात्र कांग्रेसले पनि जित्छ र कांग्रेसले मुलुकलाई पनि जिताउन सक्छ ।






