राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण हुने बताएका छन् । सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एन टिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । “नेपाली जनताको ठूलो बलिदानीले लोकतन्त्रको स्थापना भएको हो । यसको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमको योगदान महत्वपूर्ण रहन्छ”, उनले भने ।
राष्ट्रपति पौडेलले सुशासन र लोकतन्त्रलाई अझ उन्नत बनाउन फागुन २१ को निर्वाचन सफल बनाउनुपर्ने बताए । उनले भने– ‘युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आजको आवश्यकता हो ।’
राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यम तथा सन्चारकर्मीहरूलाई आग्रह गर्दै भने– ‘सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको सञ्चार संस्था होइन, यो नागरिकको संस्था हो, जसले सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिकको पक्षमा, राष्ट्रहितमा काम गर्नुपर्छ ।’
स्वतन्त्र स्वायत्त संस्थाका रुपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको उनको भनाई थियो । सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो र सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व हो बताउँदै उनले पछिल्लो समय गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिने क्रम बढ्दै गएको छ भन्ने चिन्ता व्यक्त हुँदै आएको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले इण्टरनेट र सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय रहेको, सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम प्रविधिको विकाससँगै भित्रिएको र नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको अहिलेको अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व हो भने ।
राज्यले स्थापना र सञ्चालन गरेका दुई अग्रणी प्रसारण संस्थाहरु रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्न भएको मेहनत र पहलको उनले प्रशंसा गरे ।






