सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन् । विहिबार विहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुनर्स्थापना हुनैपर्ने बताए । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको मुद्दालाई छिटो छलफलमा लैजानेमा आफू विश्वस्त रहेको उनले प्रतिक्रिया दिए ।
कानुनी, व्यवहारिक र आवश्यकताका हिसाबले संसद पुनर्स्थापना हुने सभामुख घिमिरेको भनाइ छ । छिट्टै सभा सञ्चालन गर्ने परिस्थिति आउने र त्यहाँबाट मात्रै मुलुकलाई निकास दिन सकिने उनले बताए ।
जननिर्वाचित संस्थालाई भंग गरेपछि मुलुक थप संकटमा गएको घिमिरेको भनाइ छ । सभामुख घिमिरेले संसद पुनर्स्थापना गरेर अहिलेका समस्याहरू सम्बोधन गर्नेगरी संविधान संशोधन गरेर जान सकिने भन्दै जेनजीको माग सम्बोधन गर्ने बाटो पनि संसदको पुनःस्थापना नै भएको बताए ।






