काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशको रसुवामा बाढीका कारण मुख्य राजमार्गको सम्पूर्ण सडकखण्ड अवरुद्ध भएको छ। सडक विभागले अर्को सूचना जारी नभएसम्म उक्त सडक बन्द रहने जनाएको छ।
नुवाकोटमा टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–६ स्थित धादिङखोला क्षेत्रमा बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै, विदुर नगरपालिका–१० को सिमटारमा पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको विभागको विवरणमा उल्लेख छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी लोकमार्गमा पहिरोका कारण यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
यसैगरी, गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ क्षेत्रमा पहिरोका कारण चामे–बेँसीसहर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ क्षेत्रमा पहिरोका कारण कर्णाली करिडोरसमेत पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ।
सडक विभागले बाढी, पहिरो तथा अन्य जोखिमयुक्त सडकखण्डमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, यात्रा गर्नुअघि सम्बन्धित निकायबाट जारी हुने सडकको अवस्था र यातायात सञ्चालनसम्बन्धी सूचनालाई आधार बनाउन विभागले अनुरोध गरेको छ।






