नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद प्रकाश कायस्थले कांग्रेसका साथीहरू बेतुकका गफ र एक अर्को साथीको खेदो खनेर समय बिताउनु भन्दा कांग्रेसको विगतको गर्विलो इतिहास सम्झेर नेपालको समकालीन राजनीतिमा पुर्याउनु भएको योगदानको स्मरण गर्नुपर्ने बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् – ‘हाम्रा कालजयी ,दूरदर्शी नेता जननायक बीपी कोइराला, गणेशमान सिंह,सुवर्ण शम्शेर, कृष्ण प्रसाद भट्टराई , गिरिजा प्रसाद कोइराला, सुशील कोइरालाले नेपालको समकालीन राजनीतिमा पुर्याउनु भएको योगदानको स्मरण गरौं’
संभवतः अब बस्ने नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले लामो समयदेखि चर्चामा रहेको नियमित या विशेष महाधिवेशनको विषय टुंगो लगाउनेछ । अब पार्टीका सदस्य र शुभचिन्तकहरुले रचनात्मक र श्रृजनात्मक बहस गर्नु जरुरी छ ।
नेपाली कांग्रेस पार्टीका साधारण र क्रियाशील सदस्यहरुलाई पार्टीको इतिहास, सिद्धान्त , आदर्श र विधानका बारेमा अनिवार्य प्रशिक्षणमा बस्ने व्यवस्था मिलाउने ,
पार्टीको विधानमा भएको व्यवस्था अनुसार नगर–गाउँपालिका समितिका सम्पूर्ण क्रियाशील सदस्यले सभापतिमा मतदानको माध्यमबाट निर्वाचित गर्ने ,
पार्टीका केन्द्रीय पदाधिकारी र सदस्य समेत स्थानीय वडा या पालिकाबाट अनिवार्य रुपमा प्रतिनिधि आउनु पर्ने गरी विधान संशोधन गर्नुपर्ने ,
मौजूदा विधानमा भएको व्यवस्था अनुसार पार्टी सदस्यता लिएको आवधिक समय गणना गरेर मात्र नगर र गाउँपालिका , प्रदेश , क्षेत्र , जिल्ला , प्रदेश र केन्द्रीय समिति सदस्य या पदाधिकारी बन्न पाउने व्यवस्था कडाइका साथ लागू गर्ने
केन्द्रदेखि सम्पूर्ण तहगत समितिको बैठक प्रत्येक दुई महिनामा अनिवार्य रुपमा बस्नु पर्ने र बैठकबाट भएका निर्णयहरु तहगत समितिलाई अनिवार्य रुपमा जानकारी गराउन पर्ने ,
पार्टी अनुशासन कडाइका साथ सबै तहका पदाधिकारी सदस्यले पालन गर्नु पर्ने,
केन्द्र , प्रदेश ,जिल्ला समिति बैठकमा पार्टीबाट मान्यता प्राप्त भ्रात्री संगठनका अध्यक्षहरुलाई अनिवार्य रुपमा आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी गराउनु पर्ने ,
स्थानीय तह ,प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिँदा पार्टीमा पुर्याएको योगदान र उसको कार्यक्षमताको पारदर्शी ढंगबाट मूल्यांकन गरेर टिकट वितरणको मापदण्ड बनाउनु पर्ने ,
विभिन्न राजनीतिक नियुक्ति दिदा सम्बन्धित व्यक्तिले विगतमा पार्टीमा पुर्याएको योगदानलाई मुख्य मानक बनाउनुपर्ने ,
पार्टी केन्द्रले नयाँ नयाँ विषयमा अध्ययन अनुसन्धान र नीति निर्माण गर्न सम्बन्धित विज्ञहरुको टोली बनाई परिचालन गर्नु पर्ने,
पार्टीले केन्द्र देखि जिल्ला तहसम्म पार्टी साहित्य उत्पादन, प्रकाशन र वितरणलाई प्रोत्साहित गर्ने ,
पार्टी सदस्यहरू समय समयमा समुदायमा गएर जनताले भोगिरहेको समस्याका बारेमा जानकारी लिएर सम्बन्धित निकायमा त्यसको निराकरणका लागि पहल गर्ने ,
नेपाली कांग्रेसका प्रतिस्पर्धी पार्टीहरुले नेपाली कांग्रेस पार्टीका बारेमा फैलाएका भ्रमका विरुद्ध जनताको बीचमा गएर स्पष्ट पार्ने ,
नेपाली कांग्रेस पार्टीका प्रतिस्पर्धी अन्य पार्टीका जनविरोधी क्रियाकलापका बारेमा समय समयमा जनतालाई जानकारी गराउने ,
समुदायमा क्रियाशील विभिन्न सामाजिक संघ सङ्गठनमा आबद्ध भएर जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने ,
पार्टीका सम्पूर्ण तहमा सदस्य र शुभचिन्तकहरुले दिएको शुल्क र सहयोग पारदर्शी ढंगबाट नियमित बैठकमा जानकारी गराउने,
पार्टीले आफ्ना कार्यकर्ताहरुको क्षमता अभिवृद्धि गर्न समय समयमा अन्य जिल्लाको अवलोकन भ्रमण र सूचना आदानप्रदान गर्ने ,
पार्टीका साथीहरुमा उद्यमशीलताका बारेमा जानकारी गराएर रोजगारी अभिवृद्धि गर्न प्रोत्साहित गर्ने,
सबै तहका नेता कार्यकर्ताको बीचमा निरन्तर संवाद , अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने ,
संसदीय बहुदलीय व्यवस्थामा सम्पूर्ण राजनीतिक पार्टीहरुमा आन्तरिक लोकतन्त्र जीवन्त भयो भने राजनीतिक व्यवस्था पनि बलियो हुन्छ र पार्टीप्रति जनविश्वास कायम रहन्छ । हामीले जतिसुकै ठुलो ठुलो कुरा गरेतापनि जनताको भावना र विश्वास गुमायौं भने राजनीतिक व्यवस्था पनि असफल हुन पुग्छ ,पार्टी पनि असान्दर्भिक बन्न पुग्छ ।
अतः नेपाली कांग्रेस पार्टीका आदरणीय सदस्य साथीहरुलाई बेतुकका गफ र एक अर्को साथीको खेदो खनेर समय बिताउनु भन्दा कांग्रेसको विगतको गर्विलो इतिहास सम्झेर हाम्रा कालजयी ,दूरदर्शी नेता जननायक बीपी कोइराला, गणेशमान सिंह,सुवर्ण शम्शेर, कृष्ण प्रसाद भट्टराई , गिरिजा प्रसाद कोइराला, सुशील कोइरालाले नेपालको समकालीन राजनीतिमा पुर्याउनु भएको योगदानको स्मरण गरौं । हाम्रा प्रात स् स्मरणीय शहिदहरुको सपना साकार पार्न कृत संकल्पित भएर लागौं । अहिले आम नेपाली जनताको भावना र उनीहरूको चाहनाका बारेमा छलफल र बहस गरौँ।
नेपाललाई समृद्ध र विकसित नेपाल बनाउन सार्थक बहस टोल टोलमा र गाउँ गाउँमा प्रारम्भ गरौँ। यस्ता खालका बहस र छलफल नेपाली कांग्रेसका कार्यकर्ताले आ आफ्ना गाउँ ठाउँबाट गर्न थाल्यौं भने नेपाली कांग्रेस पार्टीका प्रतिको जनविश्वास बढ्नेछ । नेपाली कांग्रेसलाई जीवन्त तुल्याउन तपाईँ हामीले गरेको प्रयासले सम्पूर्ण नेपाली जनता खुशी हुनेछन् । हाम्रो इमान्दार प्रयासले देश भित्र बाहिरका प्रतिगामी प्रतिक्रियावादी शक्तिहरू निस्तेज हुनेछन् । अहिले देशलाई सबभन्दा बढी आबस्यकता राजनीतिक स्थिरताको छ । यसतर्फ सबैको ध्यान जाओस् । सबैको जय होस्






