नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन मार्फत नयाँ सभापतिको निर्वाचन हुने र नयाँ सभापतिको हस्ताक्षर सहित निर्वाचन आयोगमा पुगेपछि त्यही सभापतिको हस्ताक्षरमा आगामी चुनावको टिकट वितरण हुने बताएका छन् ।
आइतबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा दल दर्ता गराउँदा देउवाको हस्ताक्षरलाई आधिकारिक रूपमा पेस गरेपछि नयाँ किचलो देखिएको हो । कांग्रेसले शनिबार मात्रै आगामी दुवै चुनावमा सहभागी हुने निर्णयसहित दल दर्तामा गएको थियो ।
महामन्त्री थापाले सामाजिक संजालमा भनेका छन् – ‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ।’
उनले समाजिक संजालमा आफुलाई विहानै देखि धेरै साथीहरूले पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो भनेर सोधिरहेको भन्दै आफुले त्यस्तो होइन भनेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन् –‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने– होइन।’
साथीहरूले फेरी सोध्नुभयो कसरी भनेर सोधेको जवाफमा आफुले प्रष्ट भनेको उल्लेख गर्दै लेखेका छन् – ‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ। यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं।’






