नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले निर्णायक पहलकदमी नलिई पार्टी र देशको समस्या समाधान नहुने बताएका छन् । मंगलबार उदयपुरको गाईघाटमा कांग्रेस नेताकार्यकर्तामाझ महामन्त्री शर्माले पार्टी र देशको समस्या समाधानका लागि सभापति शेरबहादुर देउवाले नै निर्णायक पहलकदमी लिनुपर्ने बताए ।
उनले भने– ‘दुई महामन्त्री के भन्छन् ? या, सात भाइ के भन्छन् ? अब त्यो मुख्य कुरा होइन । असोज २८ मा लिखित वक्तव्यमार्फत सभापति शेरबहादुर देउवाले जुन संयम, समन्वय र परिपक्वताको सन्देश दिनुभएको थियो, अब त्यो कायम राख्ने कि नराख्ने मूल प्रश्न हो।’
सभापति देउवाले त्यो दिन केन्द्रीय समितिमा दिएको वक्तव्यमा मंसिरमा महाधिवेशन छुट्नु हुन्न थियो भन्ने मत पनि शर्माले राखेका छन् । सभापतिको वक्तव्यमा मंसिरमा महाधिवेशन छुट्नु गल्ती प्रमाणित भएको बताए । उनले भने– ‘उहाँको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्याउने मलाई विश्वास छ।’
महामन्त्री शर्माले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन फिर्ता हुने अवस्था नरहेको बताउदै भने– ‘विधानमा विशेष महाधिवेशन प्रस्ताव दर्ताको दफा छ, फिर्ताको दफा छैन। त्यसैले विशेषको ब्याक गियर हुन्न ।’ ९० दिनभित्र विशेष महाधिवेशन गर्नै पर्ने उनले बताए। कांग्रेस विधानसम्मत अनि देश संविधानसम्मत नचल्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुने महामन्त्री शर्माको धारणा थियो ।






