राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामुक्त हुँदैछन् । लामिछानेलाई रिहा गर्न तुलसीपुर उच्च अदालत बुटवलले हिजो आदेश दिएसँगै आज अदालती प्रक्रियापश्चात रिहा हुने भएका हुन् ।
रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने भएकाले लामिछाने आज रुपन्देही जाँदैछन् । तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगोबराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न हिजो आदेश दिएको थियो ।
अदालतले उच्चको आदेशबमोजिमको बिगोको ग्यारेन्टी र पछि अदालतबाट फैसला हुँदा बिगोको हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउ मञ्जुर भए त्यसको कागज गराई थुनामुक्त गर्न सर्तसहितको आदेश गरेको छ । अदालतको आदेशअनुसार लामिछानेले यसअघि बुझाएको १ करोड धरौटी उच्च अदालतले स्वीकार गरेको छ । त्यो बाहेकको २ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी पनि स्वीकार गरेको छ । त्यसपछि सिर्जना हुने दायित्व पनि रवि लामिछाने तिर्न तयार हुनुपर्ने सर्त र रवि लामिछाने विदेश यात्रा गर्नु पर्ने भएमा त्यसको पूर्वजानकारी अदालतलाई दिनुपर्ने पनि आदेश छ ।
शुरूमा भैरहवा कारागार राखिएकोमा अहिले लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सारिएको थियो । धरौटीमा थुनामुक्त हुने भए पनि रविविरूद्ध सहकारी ठगी तथा सांगठनिक अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दा विभिन्न अदालतमा विचाराधीन नै छन् ।






