नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले १५औँ महाधिवेशन महामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समुहबाट महामन्त्रीको उमेदवार बनेका पौडेलले १५ औँ महाधिवेशनमा पनि महामन्त्रीको उमेदवार बन्ने घोषणा गरेका हुन् ।
पौडेलले विहिबार केहि सञ्चारकर्मीसँगको भेटघाटमा उनले अहिले कसको समुहबाट महामन्त्रीको उम्मेदवार बन्ने भन्ने चाँही खुलाएनन् । उनले भने– ‘सभापतिसहितको समूहबाट हुने पार्टीमा अभ्यास छ, अहिले यही समूह भन्ने निश्चित त भइसकेको छैन, तर मुलुकको वर्तमान परिस्थिति र जनताको भावनाअनुसार पार्टीमा नयाँपन दिनसक्ने सक्षम नेतृत्वसहितको समूह हुन्छ ।’
पौडेलले महाधिवेशन सम्पन्न गरेर मात्र कांग्रेस नयाँ नेतृत्वका साथ आमनिर्वाचनमा जानुपर्ने घारणा राखे । महाधिवेशनबाट नयाँ नेतृत्व, जेन–जी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाई पार्टी निर्वाचनमा होमिनुपर्नेमा उनको जोड छ । कांग्रेसले यही पुस २६–२९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेपनि अझै महाधिवेशको सुनिश्चितता भने भएको छैन् ।






