अर्घाखाँची। कुनै समय दक्षिण एसियाबाटै लोप हुने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः बढ्न थालेका छन् । संरक्षणका प्रभावकारी कार्यक्रम, हानिकारक पशु औषधिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल गिद्धको घट्दो सङ्ख्या रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ ।
सन् १९९० को दशकमा नेपालसहित दक्षिण एसियाका विभिन्न मुलुकमा गिद्धको सङ्ख्या तीव्र रूपमा घटेको थियो । नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा ठूलो सङ्ख्यामा गिद्ध मर्न थालेपछि गरिएको अनुसन्धानले पशु उपचारमा प्रयोग हुने पीडानाशक औषधि डाइक्लोफेनेकलाई यसको प्रमुख कारणका रूपमा पहिचान गरेको थियो ।
डाइक्लोफेनेक प्रयोग गरिएको गाईबस्तु मरेपछि त्यसको सिनो गिद्धले खाँदा गिद्धको मिर्गौलाले काम गर्न छाड्ने र करिब दुई दिनमै मृत्यु हुने गरेको पाइएको थियो । त्यस समयमा प्रजाति र स्थानअनुसार गिद्धको सङ्ख्या वार्षिक २० देखि ५० प्रतिशतसम्म घटेको थियो ।
दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्धमध्ये चार प्रजाति अतिसङ्कटापन्न, एक सङ्कटापन्न र दुई प्रजाति सङ्कटको नजिक पुगेका थिए । गिद्ध संरक्षणका लागि नेपाल, भारत र पाकिस्तानले सन् २००६ मा पशु उपचारमा डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाए भने बङ्गलादेशले सन् २०१० मा प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने ‘जटायु रेस्टुरेन्ट’, बासस्थान संरक्षण तथा अन्य हानिकारक औषधिको प्रयोग न्यूनीकरणजस्ता कार्यक्रम सञ्चालन गरिए । यी प्रयासले गिद्ध संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
हालै प्रकाशित वैज्ञानिक अध्ययनले नेपालमा दुर्लभ डङ्गर गिद्धको सङ्ख्या सन् २०१२–२०१३ पछि निरन्तर बढिरहेको देखाएको गिद्ध विज्ञ कृष्णप्रसाद भुसालले बताउनुभयो । अध्ययनअनुसार सन् २०१२ पछि नेपालमा डङ्गर गिद्धको सङ्ख्या औसतमा प्रतिवर्ष १२.७ प्रतिशतका दरले वृद्धि भएको छ । यो वृद्धि सन् २०२५ सम्म पनि निरन्तर रहेको अनुसन्धानकर्ता तथा आइयुसिएन गिद्ध विशेषज्ञ समूह एसियाका सहअध्यक्षसमेत रहनुभएका भुसालले जानकारी दिए ।
सडकमार्गमा नियमित गिद्ध गणना र गुँडको निगरानीबाट यस्तो निष्कर्ष निकालिएको हो । भुसालका अनुसार गिद्धको सङ्ख्या घट्ने क्रम रोकिएर पुनः वृद्धि हुने अवस्थामा पुगेको नेपाल दक्षिण एसियाकै पहिलो मुलुक बनेको हो । अध्ययनका क्रममा गिद्धको बाँच्ने दर पत्ता लगाउन स्याटेलाइट ट्यागसमेत प्रयोग गरिएको थियो ।
कुल ७० वटा डङ्गर गिद्धलाई ट्याग गरी गरिएको अनुगमनमा वयस्क गिद्धको वार्षिक बाँच्ने दर करिब ९४.७ प्रतिशत र अल्पवयस्क गिद्धको बाँच्ने दर ९५.५ प्रतिशत रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा अध्ययनका सहलेखक वेदकुमार ढकालले बताए ।
गिद्धको सङ्ख्या बढ्नुमा उच्च बाँच्ने दरसँगै प्रजनन सफलताको पनि महत्वपूर्ण भूमिका रहेको अध्ययनले देखाएको छ । नेपालमा सन् २००७ देखि गिद्धका गुँडको नियमित अनुगमन हुँदै आएको छ । सन् २००७ देखि २०२५ सम्म ६ हजार ४१० वटा गुँडको अनुगमन गरिएकामा औसतमा करिब ६९ प्रतिशत गुँड सफल भएको नेपाल पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अङ्कित विलाश जोशीले जानकारी दिए ।
समयसँगै गुँडको सफलता दर पनि बढ्दै गएको छ । विशेषगरी सन् २०१३ देखि २०२५ सम्मको गिद्ध पुनरुत्थान अवधिमा प्रजनन सफलतामा सुधार आएको पाइएको छ । यसले उच्च बाँच्ने दरसँगै राम्रो प्रजनन सफलताले पनि नेपालमा गिद्धको सङ्ख्या बढाउन योगदान गरेको देखाएको छ ।
नेपालमा गिद्धको सङ्ख्या बढेपछि भारतबाट ठूलो सङ्ख्यामा गिद्ध नेपाल प्रवेश गरेका कारण यस्तो वृद्धि भएको हो कि भन्ने प्रश्न पनि उठेको थियो । स्याटेलाइट ट्याग लगाइएका गिद्ध नेपाल र भारतबीच आवतजावत गर्ने प्रमाण भेटिए पनि नयाँ अध्ययनले भारतबाट आएका गिद्ध नेपालको सङ्ख्या वृद्धिको मुख्य कारण नभएको देखाएको छ ।
वैज्ञानिकहरूले विभिन्न गणितीय मोडलमार्फत गरेको विश्लेषणमा सडक सर्वेक्षणबाट देखिएको गिद्धको वृद्धि तथा गिद्धको जन्म र बाँच्ने दरका आधारमा अपेक्षा गरिएको वृद्धि लगभग समान देखिएको थियो । यसबाट नेपालमा गिद्धको सङ्ख्या बढ्नुको मुख्य कारण यहीँ जन्मिएका र यहाँ बाँचिरहेका गिद्धको राम्रो अवस्था रहेको निष्कर्ष निकालिएको छ ।
गिद्ध संरक्षणमा चर्चित ‘जटायु रेस्टुरेन्ट’ले सुरक्षित आहार उपलब्ध गराउँदै महत्वपूर्ण भूमिका खेले पनि देशभर गिद्धको सङ्ख्या बढ्नुको कारण त्यसलाई मात्र मान्न नसकिने अध्ययनले देखाएको छ । जटायु रेस्टुरेन्ट आसपासका क्षेत्रमा मात्रै नभई देशका अन्य भागमा समेत गिद्धको सङ्ख्या बढेको पाइएको छ ।
यसले सुरक्षित आहार, हानिकारक औषधिमाथिको नियन्त्रण, बासस्थान संरक्षण र समुदायको सहभागितासहितको समग्र संरक्षण अभियानले सकारात्मक परिणाम दिएको देखाउँछ ।
तर नेपालले गिद्ध संरक्षणमा महत्वपूर्ण सफलता हासिल गरे पनि गिद्ध पूर्ण रूपमा सङ्कटमुक्त भइसकेका छैनन् । नेपाल पन्छी संरक्षण सङ्घकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाका अनुसार अहिले गिद्धको सङ्ख्या बढिरहेको भए पनि सन् १९९० को दशकमा ठूलो गिरावट आउनुअघिको अवस्थाको तुलनामा सङ्ख्या अझै निकै कम छ ।
प्राप्त उपलब्धि जोगाउन संरक्षण कार्यक्रमलाई निरन्तर र प्रभावकारी बनाउनुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन् । हालै प्रतिबन्ध लगाइएका एसिक्लोफेनेक, निमेसुलाइड र किटोप्रोफेनजस्ता औषधि बजारमा उपलब्ध भए–नभएको नियमित अनुगमन गरी तिनको प्रयोग रोक्नुपर्ने उनीहरूको सुझाव छ ।
त्यस्तै, भविष्यमा नयाँ पशु औषधि बजारमा ल्याउनुअघि त्यसले गिद्धमा पार्न सक्ने असरबारे परीक्षण गर्नुपर्ने विज्ञहरूको भनाइ छ ।
सिनो खाएर वातावरण सफा राख्ने भएकाले गिद्धलाई प्रकृतिको महत्वपूर्ण ‘सफाइकर्मी’ मानिन्छ । त्यसैले गिद्धको संरक्षण जैविक विविधता र वातावरणीय सन्तुलनसँग मात्र नभई मानव स्वास्थ्यसँग समेत प्रत्यक्ष जोडिएको छ । नेपालमा गिद्धका बथान पुनः देखिन थालेकाले संरक्षण अभियानले सकारात्मक परिणाम दिएको संकेत गरेको छ।






