निर्वाचनको मुख्य म्याण्डेट लिएको सुशीला कार्की नेतृत्वको सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता विवादमा परेका छन् । आयोजना नै नगरिएको कार्यक्रममा सहभागी हुने भन्दै अमेरिका जाने तयारी गरेपछि गुप्ता विवादीत बनेका हुन् । गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेसँगै गुप्ताबारे नयाँ ट्वीस्ट आएको हो । यसअघि मन्त्री गुप्ताको अमेरिका भ्रमणलाई मन्त्रिपरिषदले समेत स्वीकृत गरीसकेको छ ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिकाले एक विज्ञप्ति जारी गर्दै युवा सम्बन्धी कुनैपनि कार्यक्रम आयोजना नगरिएको प्रस्ट पारेको हो । विज्ञप्तीमा भनिएको छ, ’एनआरएनए अमेरिका को नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको छ। यस्ता गतिविधिहरू एनआरएनए अमेरिकाको जानकारी, स्वीकृति तथा आधिकारिक निर्णय बिना केही व्यक्ति वा समूहहरूले संस्थाको नाम तथा वेबसाइटको दुरुपयोग गरी सञ्चालन गरिरहेका छन्’ ।
परिषदले यस विषयलाई अत्यन्त संवेदनशील र गम्भीर रूपमा लिइएको पनि जनाएको छ । ’एनआरएनए अमेरिका संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एक आधिकारिक संस्था हो। संस्थाको नाम, इएनआइ तथा डिजिटल पहिचानको दुरुपयोग हुँदा गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम उत्पन्न हुने भएकाले यस विषयलाई अत्यन्त संवेदनशील र गम्भीर रूपमा लिइएको छ । संस्थासँग असम्बन्धित गतिविधिहरू एनआरएनए अमेरिकासँग जोडिएमा कानुनी जिम्मेवारीसमेत उत्पन्न हुन सक्ने भएकाले हामी यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न बाध्य भएका छौँ ।’ विज्ञप्तीमा उल्लेख छ ।
परिषद्का प्रवक्ता सन्देश उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तीमा परिषद्को नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति र समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने पनि उल्लेख गरिएको छ । ‘यस विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिहरू सम्बन्धी सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने छ,’ विज्ञप्तीमा भनिएको छ । अनधिकृत गतिविधिहरूप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि संस्थाका मान्य माध्यमहरूमा भर पर्न एनआरएनए अमेरिकाले अनुरोध समेत गरेको छ ।






