टी–ट्वान्टी विश्वकप क्रिकेट अन्र्तगत आज नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । हिजोदेखि भारत र श्रीलंकामा सुरु प्रतियोगितामा आज नेपालले इंग्ल्याण्डसँग आफ्नो पहिलो खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुनेछ । यसअघि हिजो सम्पन्न खेलमा आयोजक भारत, पाकिस्तान र वेस्ट इन्डिजले विजयी सुरुवात गरेका छन् । सम्पन्न खेलमा भारतले अमेरिकालाई, वेस्ट इन्डिजले स्कटल्याण्डलाई तथा पाकिस्तानले नेदरल्याण्डलाई पराजित गरेका हुन् ।
श्रीलंकाको कोलम्बोस्थित सिन्हलिज स्पोट्र्स क्लबमा सम्पन्न दिनको पहिलो खेलमा खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । १४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । कुनै समय खेल गुमाएको पाकिस्तानलाई अन्तिम समयमा जित दिलाउन फहिम अशरफले सानदार ब्याटिङ गरे । उनले ११ बलमा अविजित २९ रन जोडे । यस्तै, साहिवजादा फरहानले सर्वाधिक ४७ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनाएको थियो ।
शनिबार नै भएको अर्को खेलमा वेष्टइन्डिजसँग स्कटल्याण्ड ३५ रनले पराजित भयो । उता घरेलुमैदानमा कप्तान सुर्यकुमार यादवको विष्फोटक ब्याटिङसँगै साविक विजेता भारतले अमेरिकालाई २९ रनले पराजित ग¥यो । भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरा २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो । कप्तान सूर्यकुमार यादवले सर्वाधिक अविजित ८४ रनको शानदार पारी खेले ।






