सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको छ । शेखरका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले सोमबार वैशाख सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।
आज सर्वोच्चमा सुनुवाइपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ र थुनाको कारणसहितको लिखित जवाफसँगै २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो । गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको थियो ।
गोल्छालाई सीआईबीको टोलीले बिहीबार वैशाख १० नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नेपाल धितोपत्र बोर्ड सेबोनले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा उनको नाम समेत मुछिएको देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।






