राष्ट्रिय स्वतन्त्र पार्टीको आजदेखि जिल्ला अधिवेशन शुरु हुँदैछ । पहिलो महाधिवेसनको तयारीमा रहेको रास्वपाले आज र भोली जिल्ला अधिवेसनका लागि तालिका तय गरेको हो ।
तालिका अनुसार आज गण्डकीका ५ जिल्ला, लुम्बिनीका ८ जिल्ला, कर्णालीका २ र सुदूरपश्चिमका ३ जिल्लामा नयाँ नेतृत्व चयन हुनेछन् । त्यस्तै भोली कोसीका ४, मधेसका ४, बागमतीका चितवन, ललितपुर र रसुवा, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिमका अछाम, कैलाली, कञ्चनपुरसहित ६ जिल्लामा अधिवेशन हुनेछ ।
रास्वपाका संघीय सांसदहरूले पार्टीको केन्द्रीय तहबाहेक अन्य कुनै पनि तल्लो समितिमा उम्मेदवारी दिन नपाउने भएका छन् । पार्टीको निर्वाचन आयोगको पछिल्लो जानकारी र पार्टीको साङ्गठनिक नीतिअनुसार संघीय सांसदहरूलाई पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहको निर्वाचनमा उम्मेदवार बन्न रोक लगाइएको बतईएको छ ।
आन्तरिक लोकतन्त्र र कार्यविभाजनलाई व्यवस्थित बनाउन यो रोक लगाईएको रास्वपाले जनाएको छ । यस व्यवस्थाअनुसार अब संघीय सांसदहरूले पार्टीको तल्लो तहका समितिहरूमा कार्यकारी पदका लागि प्रतिस्पर्धा गर्न पाउने छैनन् ।
पार्टीले जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन एवम् जेठ ९ र १० गते पालिका भेला तथा पालिका अधिवेशन सञ्चालन गरेको थियो । रास्वपाले हालसम्म ४ हजार २४६ वट वडामा अधिवेशन सकेको छ भने ५१२ ओटा पालिका अधिवेशन सम्पन्न गरेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अगाामी असार ७, ८, ९ गते चितवनमा हुँदैछ ।






