प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बस्दैछ । सदनको कार्यसूचीबारे छलफलका लागि सभामुख डोलप्रसाद अर्यालको आव्हानमा आज बिहान साढे नौ बजे सिंह दरबारस्थित सङ्घीय संसद् सचिवालयमा बैठक बोलाईएको हो ।
प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको र नयाँ समिति गठन हुन नसकेकाले यो बैठक आह्वान गरिएको हो ।
गत जेठ १७ गते विपक्षी दलहरूको बेल घेराउबिच सत्तारुढ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको थियो। त्यसयता विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएका कारण नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन ।
विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र उनले सदनमा आएर माफी माग्नुपर्ने माग राख्दै लगातार सदन अवरोध गर्दै आएका छन् । संसदको यो गतिरोध अन्त्य गर्न सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको बताईएको छ ।






